रास्वपाद्वारा स्वकीय सचिव नियुक्तिमा नयाँ मापदण्ड, नातावाद र परिवारवाद निषेध
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय सांसदका स्वकीय सचिव नियुक्तिलाई थप व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन नयाँ आन्तरिक निर्देशन जारी गरेको छ।
निर्देशनमार्फत नियुक्ति प्रक्रियामा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै योग्यता र क्षमताका आधारमा कर्मचारी छनोट गर्न सांसदहरूलाई स्पष्ट मापदण्ड दिएको छ। निर्देशनअनुसार सांसदहरूले एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न पाउने छैनन्।
पार्टीले परिवारभन्दा बाहिरका योग्य र सक्षम व्यक्तिलाई प्रतिस्पर्धात्मक रूपमा छनोट गर्नुपर्ने व्यवस्था गरेको छ। स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता अनिवार्य हुने उल्लेख गरिएको छ। साथै स्नातक वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेको, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएको तथा पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्ध उम्मेदवारलाई प्राथमिकता दिन भनिएको छ।
रास्वपाले समावेशी प्रतिनिधित्वलाई पनि विशेष महत्व दिएको छ। योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका व्यक्तिलाई प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिइएको छ।
पार्टीका अनुसार यो व्यवस्था सांसदका स्वकीय सचिव नियुक्तिलाई थप व्यवस्थित, मितव्ययी र जवाफदेही बनाउने उद्देश्यले लागू गरिएको हो। नयाँ मापदण्डले पारदर्शिता अभिवृद्धि गर्नुका साथै योग्यता र समावेशितालाई संस्थागत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







