डा. गोविन्द केसीका मागबारे मन्त्री पोखरेलले थाले छलफल, ‘म उहाँको फ्यान हुँ’

User Image Prime TV News १ हप्ता अगाडि
Image of डा. गोविन्द केसीका मागबारे मन्त्री पोखरेलले थाले छलफल, ‘म उहाँको फ्यान हुँ’

काठमाडौ। सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल सुरु गरेका छन्।

शुक्रबार मन्त्री पोखरेलले डा. केसीको टोलीसँग अनौपचारिक छलफल थालेको जानकारी दिएका हुन्। उनले आफू डा. केसीले उठाउँदै आएका मुद्दाप्रति सकारात्मक रहेको बताए। “मेरो पहिल्यैदेखि डा. केसीको आन्दोलनमा साथ र समर्थन रहेको छ,” मन्त्री पोखरेलले भने, “म डा. केसीको फ्यान हुँ।”

उनले डा. केसीको आन्दोलन र संघर्षले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार ल्याउन भूमिका खेलेको उल्लेख गरे। “डा. केसीले गर्दा नै नेपालको चिकित्सा क्षेत्रमा निकै सुधार भएको हो,” उनले भने, “उहाँले उठाएका मागबारे बुझ्न लगाएको छु।”

मन्त्री पोखरेलले मागहरूको अध्ययनपछि सम्बोधनका लागि आवश्यक पहल गर्ने बताए। उनका अनुसार हाल डा. केसीको टोलीसँग अनौपचारिक छलफल जारी छ। डा. केसी गेटा अस्पतालको नेतृत्वमा स्वार्थ बाझिने व्यक्ति नियुक्त गरिएको लगायतका माग राख्दै सत्याग्रहमा बसेका छन्।