हरिशयनी एकादशीसँगै देशभर तुलसी पूजा र चतुर्मास व्रत सुरु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आज हरिशयनी एकादशीका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले तुलसीको बिरुवा मठमा सार्दै चार महिने चतुर्मास व्रत तथा विशेष पूजा–आराधना सुरु गरेका छन्।
सनातन वैदिक परम्परा अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक विश्वास छ।
यही कारण यस दिनलाई हरिशयनी एकादशीका रूपमा मनाइन्छ। चतुर्मास अवधिभर भक्तजनले तुलसीको नियमित पूजा, दीप प्रज्वलन, भजन–कीर्तन तथा व्रत गर्ने परम्परा रहेको छ।
आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, चार नारायण तथा देशभरका विष्णु मन्दिरमा दर्शनार्थीको उल्लेखनीय भीड लागेको छ। श्रद्धालुहरूले फलाहार गर्दै व्रत बसेका छन् भने एकादशीका दिन चामलबाट बनेका परिकार नखाने परम्परालाई पनि निरन्तरता दिएका छन्।
धार्मिक महत्त्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिका रूपमा पनि हेरिन्छ। वातावरण शुद्ध बनाउन, विभिन्न रोगबाट बच्न र घर–आँगनलाई हरियाली बनाइराख्न तुलसी उपयोगी मानिन्छ। यस कारण धार्मिक तथा वैज्ञानिक दुवै दृष्टिले तुलसीको महत्त्व विशेष रहेको बताइन्छ।
चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गरिने परम्परा रहेको छ। त्यसपछि हवन तथा अन्य धार्मिक अनुष्ठान गरी चतुर्मास व्रतको समापन गरिन्छ।







