देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
तराई क्षेत्रमा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेस र कोसी प्रदेशमा आंशिकदेखि साधारण बदली रहने विभागले जनाएको छ। यी क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान छ।
रातिको समयमा वाग्मती, गण्डकी र कोसी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेकाले वर्षाको गतिविधि बढ्न सक्ने विभागको विश्लेषण छ।
मौसमविद्ले भारी वर्षा हुन सक्ने क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढ्न, सडक अवरुद्ध हुन तथा पहिरोको जोखिम रहने भएकाले यात्रा र दैनिक गतिविधिमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।







