पहिरो र सडक कटानले ११ सडकखण्ड अवरुद्ध, यात्रा अघि सडकको अवस्था बुझ्न प्रहरीको आग्रह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । लगातारको वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै ११ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ । प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामाबगर–सिङ्गटी–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु राजमार्ग तथा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थबाङ सडक र रुकुम पश्चिमको भेरी करिडोर सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
यस्तै भोजपुर र खोटाङ खण्डको मध्यपहाडी लोकमार्गमा बाढी तथा पहिरोका कारण एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
देशका अधिकांश क्षेत्रमा वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम अझै कायम रहेको भन्दै प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।







