युक्रेनमा रुसी आक्रमण तीव्र, विभिन्न स्थानमा कम्तीमा १५ जनाको मृत्यु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको मिसाइल, ड्रोन र ग्लाइड बम आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब एक सय जना घाइते भएका छन्।
राजधानी किभस्थित ड्रोन प्रविधि प्रदर्शनीस्थलमा भएको ब्यालिस्टिक मिसाइल आक्रमण सबैभन्दा घातक बनेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको प्रदर्शनीमा भएको आक्रमणमा १० जनाको ज्यान गएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनामा करिब एक सय जना घाइते भएको जानकारी दिएका छन्। पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ।
साथै उत्तरी सुमी क्षेत्रमा पनि शनिबार बिहान भएको अर्को आक्रमणमा दुई जनाको ज्यान गएको युक्रेनी सैन्य अधिकारीहरूले बताएका छन्।
युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार किभ नजिक रुसले तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये एउटा मिसाइल मात्रै युक्रेनको वायु प्रतिरक्षा प्रणालीले अवरोध गर्न सफल भएको जनाइएको छ।
आक्रमणअघि राष्ट्रपति जेलेन्स्कीले रुसले आगामी ४८ घण्टाभित्र ठूलो मिसाइल आक्रमण गर्न सक्ने गुप्तचर सूचना प्राप्त भएको बताएका थिए।
उता, रुसी रक्षा मन्त्रालयले आक्रमणको पुष्टि गर्दै युक्रेनले रुसी नागरिक क्षेत्रमा आक्रमण गर्न प्रयोग गर्ने ड्रोनहरूको प्रदर्शनी भइरहेको स्थानलाई अत्याधुनिक दूरगामी हतियारबाट निशाना बनाइएको दाबी गरेको छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेयता यस्ता प्रदर्शनीस्थललाई लक्षित गरी गरिएको यो कम्तीमा तेस्रो आक्रमण हो।
यसैबीच, युक्रेनले शुक्रबार रुसको किरोभ शहरस्थित एक सैन्य उद्योगमा गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ। युक्रेनी ड्रोनले रुसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका गोदामहरूलाई पनि निशाना बनाएको बताइएको छ।







