नीट परीक्षा विवादबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मेडिकल प्रवेश परीक्षा (नीट) सम्बन्धी विवाद र त्यसपछि चर्किएको विद्यार्थी आन्दोलन तथा राजनीतिक दबाबका बीच भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिएका छन ।
प्रधानले आफ्नो राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष बुझाएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन्। पछिल्ला केही सातादेखि नीट परीक्षा प्रश्नपत्र चुहावटको आरोपलाई लिएर सरकारको व्यापक आलोचना भइरहेको थियो। यस घटनापछि परीक्षा प्रणालीको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेका छन्।
विपक्षी दल तथा विद्यार्थी संगठनहरूले सुरुदेखि नै शिक्षामन्त्रीको राजीनामाको माग गर्दै आएका थिए। सरकार र आन्दोलनरत पक्षबीच दोस्रो चरणको वार्ताअघि प्रधानले पद त्याग गरेपछि यसलाई सरकारको महत्त्वपूर्ण राजनीतिक निर्णयका रूपमा हेरिएको छ।
राजीनामापछि सार्वजनिक सन्देशमा प्रधानले आफू चार दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रको सुधार, विद्यार्थी र शिक्षकको हितका लागि समर्पित रहेको उल्लेख गरेका छन्। उनले देशका युवाको आकांक्षा र न्यायोचित अपेक्षाप्रति सम्मान व्यक्त गर्दै सशक्त शिक्षा प्रणाली नै राष्ट्र निर्माणको आधार भएको बताएका छन्।
प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रसेवा गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्दै परीक्षा प्रणालीलाई निष्पक्ष र विश्वसनीय बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनका अनुसार ३ मे २०२६ मा सम्पन्न नीट–यूजी परीक्षामा अनियमितता देखिएपछि सरकारले तत्काल छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई दिएको थियो। त्यसपछि परीक्षा रद्द गरी पुनः परीक्षा सञ्चालन गरिएको र आगामी वर्षदेखि कम्प्युटर आधारित (सीबीटी) प्रणालीमार्फत परीक्षा लिने निर्णय गरिएको उनले बताएका छन्।
प्रधानले पुनः परीक्षा सफलतापूर्वक सञ्चालन गर्न केन्द्र, राज्य सरकार, जिल्ला प्रशासन, विद्यार्थी र अभिभावक सबैको सहयोग रहेको उल्लेख गर्दै कुनै पनि मेधावी विद्यार्थीमाथि अन्याय हुन नदिने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
साथै, १६ जुलाईमा सार्वजनिक भएको नीट–यूजीको नतिजामा विभिन्न पृष्ठभूमिका योग्य विद्यार्थीले सफलता हासिल गरेको दाबी गरेका छन्।







