कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन्।

प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै उनले मुख्यमन्त्री पदबाट अलग हुने घोषणा गरेका हुन्।

कांग्रेस र नेकपाले असार ३२ गते कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथिको छलफलका क्रममा उनले आफ्नो धारणा प्रस्तुत गर्दै पद त्याग गर्ने निर्णय सुनाएका हुन्।

राजीनामा घोषणा गर्दै कँडेलले पद वा कुर्सीभन्दा जनताको सेवा आफ्नो प्राथमिकता रहेको बताए। उनले आफ्नो कार्यकालमा प्रदेशको विकास, सुशासन र सेवा प्रवाह सुधारका लागि विभिन्न महत्त्वपूर्ण काम गरिएको दाबी गरे।

उनले अब गठन हुने नयाँ सरकारको स्थायित्वबारे टिप्पणी गर्दै राजनीतिक समीकरण फेरिन सक्ने संकेत गरे। प्रदेशसभामा सम्बोधनका क्रममा उनले नेकपा एमालेका शीर्ष नेतृत्वसँग आफ्नो संवाद भएको उल्लेख गर्दै कम्युनिस्ट शक्तिहरूबीच सहकार्यको सम्भावनासमेत औंल्याए।

कँडेल २०८० चैतको अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका थिए। सुरुमा नेकपा नेकपाको समर्थनमा सरकारको नेतृत्व गरेका उनी २०८१ साउनदेखि नेपाली कांग्रेससँगको नयाँ सत्ता गठबन्धनको सहकार्यमा अघि बढेका थिए।

मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखसमक्ष पुगेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने बताएका छन्। उनको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।