एमाले र नेकपाबीच प्रदेश सरकार गठनमा तीनबुँदे सहमति

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले र नेकपाबीच प्रदेश सरकार गठनमा तीनबुँदे सहमति

काठमाडौ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा राजनीतिक सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।

शनिबार भएको सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

दुवै दलले प्रदेश सभाहरूमा देखिएको राजनीतिक असमझदारी, बजेट निर्माणमा आएको अवरोध, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले सहकार्य गर्ने निर्णय गरेका छन्।

सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व एमालेले गर्नेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ।

मधेस र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग परामर्श गरेर सरकारको नेतृत्व र सत्ता साझेदारीको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

दुवै दलले प्रदेश सरकारहरूलाई प्रभावकारी, स्थिर र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्।