बुराम भट्टराईको चिन्ता : सङ्घीयतामाथिको आक्रमण लोकतान्त्रिक व्यवस्थाकै चुनौती

User Image Prime TV News १ हप्ता अगाडि
Image of बुराम भट्टराईको चिन्ता : सङ्घीयतामाथिको आक्रमण लोकतान्त्रिक व्यवस्थाकै चुनौती

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको सङ्घीय व्यवस्थामाथि भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले लोकतान्त्रिक गणतन्त्र र संविधानको कार्यान्वयनमै चुनौती सिर्जना गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपालको जातीय, भाषिक, सांस्कृतिक तथा क्षेत्रीय विविधता र ऐतिहासिक विभेदलाई सम्बोधन गर्न संविधानसभाबाट संस्थागत गरिएको सङ्घीय प्रणालीमाथि प्रहार हुनु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन्।

उनले देशको इतिहास र सामाजिक यथार्थबारे पर्याप्त जानकारी नभएका नयाँ पुस्तामा सङ्घीयताप्रति आशङ्का देखिनु स्वाभाविक भए पनि पुराना राजनीतिक दलका नेताहरूले नै भ्रम फैलाउनु चिन्ताजनक भएको बताएका छन्।

प्रदेश सरकारहरूलाई अस्थिर र प्रभावहीन बनाउँदै सङ्घीयताप्रति जनतामा निराशा र वितृष्णा पैदा गर्ने प्रयास भइरहेको उनको आरोप छ।

भट्टराईले प्रदेश सरकारको बारम्बार हुने फेरबदलले राजनीतिक अस्थिरता बढाएको उल्लेख गर्दै वर्तमान निर्वाचन प्रणालीमा आवश्यक सुधार नआएसम्म विचार, नीति र कार्यक्रम मिल्ने दलहरूले पूरा कार्यकालका लागि स्थायी गठबन्धन बनाएर सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

उनले अर्को विकल्पका रूपमा प्रदेशसभाको सबैभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिने र अन्य दलहरूले बाहिर बसेर गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने अभ्यास अपनाउन सकिने धारणा पनि राखेका छन्।

भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षण सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यही व्यवस्थाको निरन्तरतामै देशको राजनीतिक स्थिरता, समावेशिता र भविष्य सुरक्षित रहने बताएका छन्।