एमाले महासचिवको टिप्पणी : ‘लोकरिझ्याइँ र अराजकतामा आधारित राजनीति दीर्घकालीन हुँदैन’

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले महासचिवको टिप्पणी : ‘लोकरिझ्याइँ र अराजकतामा आधारित राजनीति दीर्घकालीन हुँदैन’

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ, अवसरवाद र अराजकतावादको आधारमा उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिहरूको भविष्यबारे टिप्पणी गरेका हुन्।

उनले कुनै पनि राजनीतिक शक्ति छिटो उदाए पनि त्यसको पतन पनि छिट्टै हुन सक्ने दाबी गरे। पोखरेलले नयाँ शक्तिहरूको असफलतापछि जनमत स्वतः परम्परागत राजनीतिक दलतर्फ फर्किने सुनिश्चितता नरहेको उल्लेख गर्दै त्यसका लागि मूलधारका दलहरूले जनविश्वास पुनः जित्नुपर्ने चुनौती रहेको बताए।

उनले विशेषगरी युवा पुस्तामा राजनीतिक दलप्रतिको आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीले युवामाझ आफ्नो उपस्थिति र विश्वास बढाउन आवश्यक रहेको धारणा राखे। कार्यक्रमहरूमा युवा सहभागिता अपेक्षाकृत कम देखिएको भन्दै उनले यसतर्फ गम्भीर समीक्षा आवश्यक रहेको बताए।

महासचिव पोखरेलले लोकरिझ्याइँमा आधारित राजनीति असफल भएपछि उत्पन्न हुने राजनीतिक शून्यतालाई सही दिशामा लैजान राजनीतिक दलहरूले समयमै रणनीति बनाउनुपर्नेमा जोड दिए।

उनले जनतासँगको सम्बन्ध सुदृढ गर्दै नीति, कार्यक्रम र कार्यशैलीमार्फत विश्वास आर्जन गर्नु नै आगामी दिनको प्रमुख चुनौती हुने उल्लेख गरे।