फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित

User Image Prime TV News १ हप्ता अगाडि
Image of फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित

काठमाडौ । दक्षिण–पश्चिमी फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्।

तीव्र हावा, अत्यधिक तापक्रम र सुख्खा मौसमका कारण आगो नियन्त्रणमा लिन चुनौती थपिएको अधिकारीहरूले बताएका छन्। दक्षिण–पश्चिम फ्रान्सको बोर्दो आसपास फैलिएको डढेलो तीव्र हावाका कारण थप विस्तार भइरहेको छ।

आगो बोर्दोतर्फ बढ्न थालेपछि अग्निनियन्त्रकहरूले नियन्त्रण प्रयासलाई तीव्र पारेका छन्। स्थानीय अधिकारीहरूका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आउन अझै समय लाग्ने देखिएको छ।

सुरक्षाको दृष्टिले बोर्दोको पश्चिममा रहेका सात सहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ। शनिबार बिहानसम्म डढेलो बोर्दोबाट करिब ४० देखि ५० किलोमिटर दूरीमा पुगे पनि धुवाँ सहरसम्म फैलिएको छ।

स्थानीयवासीले हावामा डढेको तीव्र गन्ध महसुस गरिरहेको बताएका छन्। फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रबाट मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

उद्धार तथा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन फ्रान्स सरकारले सेना परिचालन गरेको छ। सेनाले झाडी हटाउने, आगो फैलिन नदिन फायर ब्रेक निर्माण गर्ने तथा अग्निनियन्त्रकलाई आवश्यक सहयोग गरिरहेको छ।

उता, स्पेनमा पनि डढेलोका कारण संकटकाल घोषणा गरिएको छ। मौसममा केही सुधार आएपछि म्याड्रिड बाहिरका क्षेत्रमा आगो नियन्त्रणमा केही सहजता आएको भए पनि जोखिम अझै कायम रहेको अधिकारीहरूले बताएका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले अवस्था अझै गम्भीर रहेको भन्दै आगामी दिनहरू पनि चुनौतीपूर्ण रहने बताएका छन्। भ्यालेन्सिया क्षेत्रमा डढेलोका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

स्पेनको आन्तरिक मन्त्रालयका अनुसार डढेलो सुरु भएयता म्याड्रिड र आभिला क्षेत्रबाट करिब ६० हजार मानिस विस्थापित भएका छन् भने २८ हजारभन्दा बढी मानिस अझै पनि आफ्नै घरभित्र सुरक्षित बस्न बाध्य छन्।

प्रधानमन्त्री साञ्चेजका अनुसार यस वर्ष स्पेनमा हालसम्म करिब १ लाख ३० हजार हेक्टर वन क्षेत्र डढेलोले नष्ट गरिसकेको छ, जुन विगत एक दशकको वार्षिक औसतभन्दा उल्लेखनीय रूपमा बढी हो। अधिकारीहरूले तापक्रम केही घटे पनि तीव्र हावाको सम्भावनाका कारण डढेलोको जोखिम अझै कायम रहेको बताएका छन्।