बाढीपहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, बीपी राजमार्गमा रातिको प्रतिबन्ध यथावत्

User Image Prime TV News १ हप्ता अगाडि
Image of बाढीपहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, बीपी राजमार्गमा रातिको प्रतिबन्ध यथावत्

काठमाडौ । लगातारको वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध यथावत् राखिएको छ।

यस्तै, कान्ति लोकपथमा पनि वर्षायामको जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्गमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

दोलखा–रामेछाप जोड्ने लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात प्रभावित भएको छ। उक्त क्षेत्रमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

यसैगरी, पासाङ ल्हामु सडकखण्डमा पहिरो खसेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक पनि अवरुद्ध भएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडकखण्डमा समेत सवारी आवागमन रोकिएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडकहरू खुलाउन सडक विभाग, स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाउने र मर्मतको काम तीव्र रूपमा अघि बढाइरहेका छन्। वर्षा जारी रहेकाले पहाडी तथा नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।