एमाले नेता बर्तौलाको आरोप: राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई गिरफ्तार गरिनुपर्छ
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै राज्यविरुद्धको अपराधमा संलग्न भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले गृहमन्त्री अर्याललाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेका छन्। बर्तौलाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई उदाहरण दिँदै, सो शान्तिपूर्ण आन्दोलनमा “सुनियोजित घुसपैठ” गराएर हिंसा भड्काउने कार्यमा अर्यालको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाए।
“शान्तिपूर्ण आन्दोलनमा हिंसा र विध्वंस मच्चाउने स्टेकहोल्डर स्वयं गृहमन्त्री हुन,” बर्तौलाले लेखेका छन्, “राष्ट्रिय सम्पदामा तोडफोड, सर्वसाधारणका घर–व्यवसायमा लुटपाट, आगजनी जस्ता कार्यमा उनी प्रायोजित उत्प्रेरक बने।”
बर्तौलाले गृहमन्त्री अर्यालले घुसपैठ र उन्मत्त कार्यशैलीका आधारमा गृहमन्त्री पदको पुरस्कार पाएको आरोप लगाउदै अर्यालमाथि फौजदारी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीबाट जोगाएको बताए ।







