डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा
Prime TV News एक महिना अगाडि 
धनगढी । सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको निकास खोज्न सरकारले थप दुई जना उच्च अधिकारीलाई धनगढी पठाएको छ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार बुद्ध एयरमार्फत धनगढी पुगेका हुन्। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै मन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगेका थिए।
शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमा संवाद गरेपछि वार्तामार्फत समाधान खोज्ने उद्देश्यले सरकारी टोली परिचालन गरिएको हो। धनगढी पुगेको टोलीले आइतबार नै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले सहमतिमार्फत अनशनको निकास निकाल्ने प्रयास जारी राखेको जनाएको छ।
यसैबीच, स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार डा. केसीलाई शनिबारदेखि सेती प्रादेशिक अस्पतालमा राखेर उपचार तथा स्वास्थ्य निगरानी गरिएको छ।







