अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न आह्वान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको आर्थिक विकासमा साझेदार बन्न नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल अन्तरक्रियामा उनले सरकार र आफ्नो दलको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने धारणा दोहोर्याउँदै प्रवासी नेपालीलाई नेपालप्रति विश्वास कायम राख्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई देशका सद्भावनादूतको रूपमा उल्लेख गर्दै नेपालको आर्थिक विकासमा उनीहरूको साथ र सहयोग आवश्यक रहेको बताए। सरकारले अर्थतन्त्रको पुनरुत्थानका लागि बजेटमार्फत कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू लागू गरेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानी गर्न आह्वान गरे।
उनले नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सकिने स्पष्ट पार्दै सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणामार्फत प्रवासी नेपालीको लगानी विस्तार गर्न पहल गरिरहेको बताए।







