कर्णालीमा शाही र सुदूरपश्चिममा भट्टले सरकारको नेतृत्व गर्ने
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा एमाले बीच भएको सहमति अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने भएको छ।
शनिबार भएको सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलका नेता खगराज भट्ट र कर्णाली प्रदेशमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने सहमति भएको हो। उनीहरूको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार अघि बढाइने जनाइएको छ।
हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन्। यता कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। दुई दलबीच सत्ता साझेदारी, मन्त्रालयको भागबन्डा तथा साझा न्यूनतम कार्यक्रमका विषयमा सहमति जुटेसँगै दुवै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ।
यसअघि कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।







