ट्रम्पले इरानमाथिको ठूलो सैन्य कारबाही तत्कालका लागि रोके

User Image Prime TV News ६ दिन अगाडि
Image of ट्रम्पले इरानमाथिको ठूलो सैन्य कारबाही तत्कालका लागि रोके

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तयारी अवस्थामा रहेको ठूलो सैन्य कारबाही तत्कालका लागि स्थगित गरेका छन्।

द न्यूयोर्क टाइम्स र एक्सियोसका अनुसार शुक्रबार शीर्ष सुरक्षा सल्लाहकार र मन्त्रिपरिषद्का सदस्यहरूसँग भएको उच्चस्तरीय बैठकपछि ट्रम्पले सेनालाई नयाँ ठूला हमला रोक्न निर्देशन दिएका हुन्।

रिपोर्टअनुसार अमेरिकी सैन्य अधिकारीहरूले मध्यपूर्वमा तैनाथ सेनासँग रहेको प्याट्रियट इन्टरसेप्टर मिसाइल तथा अन्य हवाई रक्षा प्रणालीको भण्डार उल्लेखनीय रूपमा घट्दै गएको भन्दै थप ठूलो सैन्य अभियानले जोखिम बढाउन सक्ने चेतावनी दिएका थिए।

जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पनि इरानविरुद्ध व्यापक सैन्य कारबाही गर्दा मध्यपूर्वमा रहेका अमेरिकी सैनिक र सहयोगी राष्ट्रहरूको सुरक्षामा थप खतरा उत्पन्न हुन सक्ने सुझाव दिएका थिए। अप्रिलको अन्त्यसम्म अमेरिकाले १,२०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको बताइएको छ।

यस निर्णय अस्थायी हो वा दीर्घकालीन भन्नेबारे अमेरिकी प्रशासनले स्पष्ट गरेको छैन। यद्यपि, आवश्यक परे अमेरिकी सेना ठूलो सैन्य अभियान सञ्चालन गर्न पूर्ण रूपमा तयार रहेको जनाइएको छ। निर्णयपछि लगातार १३ रातसम्म इरानका सैन्य लक्ष्यमा बमबारी गर्दै आएको अमेरिकाले शुक्रबार राति भने कुनै नयाँ हवाई हमला गरेन।

यसैबीच, इरानले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लिटको नौसैनिक अखडालाई लक्षित गर्दै ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरिएको छ, जसका कारण त्यहाँ ठूला विस्फोट भएका बताइएको छ। हालै जोर्डनमा भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाभित्र सुरक्षा चिन्ता थप बढेको छ।

दुई सातादेखि जारी तनावका बीच शनिबार पहिलो पटक राति कुनै हवाई आक्रमण नभए पनि पेन्तागनले सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै मध्यपूर्वमा थप सैन्य बल र हतियार परिचालन गरेको जनाएको छ।