गृहमन्त्री गुरुङ रसुवागढी नाकामा, तस्करी नियन्त्रणबारे अनुगमन

User Image Prime TV News एक महिना अगाडि
Image of गृहमन्त्री गुरुङ रसुवागढी नाकामा, तस्करी नियन्त्रणबारे अनुगमन

काठमाडौ । गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन्।

आइतबार बिहान रसुवागढी पुगेर उनले नाकामार्फत हुनसक्ने तस्करी तथा भन्सार छली नियन्त्रणको अवस्थाबारे अनुगमन गरेका हुन्। गृहमन्त्री गुरुङ शनिबार काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका थिए। आइतबार बिहान स्याफ्रुबेसी हुँदै रसुवागढी पुगेको जिल्ला प्रहरी स्रोतले जनाएको छ।

यसअघि रसुवा जाने क्रममा शनिबार गोसाइकुण्ड गाउँपालिका–५ अन्तर्गत पासाङ ल्हामु सडकखण्डमा एउटा मालवाहक गाडी त्रिशूली नदीमा खस्दा दुर्घटना भएको थियो। चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस नजिक भएको दुर्घटनास्थलमा गृहमन्त्री गुरुङ स्वयं पुगेर खोज तथा उद्धार कार्यको अनुगमन गरेका थिए।

दुर्घटनामा भन्सार पास गरी सामान बोकेको एसआरएम कम्पनीको गाडीका चालक, कालिका गाउँपालिका–२ का २२ वर्षीय सबिन तामाङ बेपत्ता छन्। प्रहरीले नदीमा खसेको गाडी र चालकको खोजी कार्य जारी रहेको जनाएको छ।