पाँच प्रदेशको सत्ता समीकरणपछि एमालेभित्र मुख्यमन्त्रीका लागि दौडधुप तीव्र

User Image Prime TV News ६ दिन अगाडि
Image of पाँच प्रदेशको सत्ता समीकरणपछि एमालेभित्र मुख्यमन्त्रीका लागि दौडधुप तीव्र

काठमाडौ । नेकपा एमाले र नेकपाबीच पाँच प्रदेशमा सत्ता साझेदारी गर्ने सहमति भएसँगै एमालेको भागमा परेका तीन प्रदेशमा मुख्यमन्त्री बन्न नेताहरूबीच दौडधुप सुरु भएको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति भएपछि प्रदेश संसदीय दलको नेता बन्नसमेत नेताहरूले सक्रियता बढाएका छन्। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीन बुँदे सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

नेकपाले सुदूरपश्चिममा खगराज भट्ट र कर्णालीमा मंगलबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ। यता एमालेको भागमा परेका तीन प्रदेशमा भने मुख्यमन्त्रीको नाम टुंगो लागिसकेको छैन।

कोशीमा मेन्याङ्बोको चर्चा

कोशी प्रदेशमा हाल एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीको स्थानमा प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने तयारी गरेको चर्चा छ।

यसका लागि प्रदेश संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने हुन्छ। ९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका १७ सांसद छन्, जुन सरकार गठनका लागि आवश्यक बहुमतको सीमामा रहेको छ। एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताएका छन्।

बागमतीमा किरण थापाको चर्चा

बागमती प्रदेशमा हाल एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया छन्। तर एमाले अध्यक्ष ओलीको रोजाइमा भक्तपुरका किरण थापा परेको चर्चा छ। यदि दलको नेता परिवर्तन गर्ने अवस्था आएमा थपलिया, थापा र काठमाडौंका केशव पोखरेलबीच प्रतिस्पर्धा हुन सक्ने बताइएको छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ। यहाँ एमालेका २५ र नेकपाका २६ सांसद छन्। सरकार गठनका लागि एमाले–नेकपाले अन्य दलको समर्थन लिनुपर्ने अवस्था छ।

लुम्बिनीमा आचार्य र ढकालबीच प्रतिस्पर्धा

लुम्बिनी प्रदेशमा हाल एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन्। उनलाई निरन्तरता दिने वा नयाँ नेतृत्व ल्याउने भन्ने विषयमा एमालेले निर्णय गरिसकेको छैन। स्रोतका अनुसार महासचिव शंकर पोखरेल निकट मानिने आचार्यलाई निरन्तरता दिने पक्षमा पहल भइरहेको छ भने अध्यक्ष ओली पक्षले भूमिश्वर ढकाललाई अघि सार्न सक्ने चर्चा छ।

यसबाहेक पूर्वमुख्यमन्त्री लीला गिरीको नाम पनि चर्चामा आएको छ। ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४३ सांसद आवश्यक पर्छ। एमालेका २९ र नेकपाका १२ गरी ४१ सांसद रहेकाले सरकार बनाउन थप एक सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले दुई दलबीच भएको सहमतिअनुसार सरकार गठन हुने बताउँदै मुख्यमन्त्री चयनबारे पार्टीभित्र छलफल हुन बाँकी रहेको जानकारी दिएकी छन्। अब एमालेले प्रदेश संसदीय दलको नेता चयन प्रक्रिया टुंग्याएपछि मात्र तीनै प्रदेशमा मुख्यमन्त्रीको अन्तिम नाम सार्वजनिक हुने देखिएको छ।