बागमती प्रदेशमा मन्त्रालय संख्या घटाउन माओवादी केन्द्रको माग, राहत र पुनर्निर्माणमा तत्काल पहलको जोड
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकारसँग मन्त्रालयको संख्या घटाउन माग गरेको छ। माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै मन्त्रालयको संख्या १४ बाट घटाएर ७ मा सीमित गर्न माग गरेको हो।
ज्ञापनपत्रमार्फत माओवादी केन्द्रले प्रदेश सरकारलाई खर्च कटौती गर्दै प्रभावकारी शासन प्रणाली विकास गर्न मन्त्रालय संख्या घटाउनु आवश्यक रहेको उल्लेख गरेको छ। साथै, हालैको बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
यसका साथै, प्रतिपक्षले बाढीपहिरोको संकट र अन्य समसामयिक चुनौतीहरू छलफल गर्न तत्काल प्रदेश संसदको बैठक बोलाउनुपर्ने माग समेत गरेको छ। ज्ञापनपत्रमा ८ बुँदे माग तथा सुझावहरू समावेश गरिएको छ ।














