तीन दिन मौसम सामान्य रहने, केही क्षेत्रमा वर्षाको सम्भावना

User Image Prime TV News एक महिना अगाडि
Image of तीन दिन मौसम सामान्य रहने, केही क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशभर मौसममा ठूलो सक्रियता देखिने छैन।

आइतबारदेखि मंगलबारसम्म केही स्थानमा सामान्यदेखि मध्यम वर्षा भए पनि व्यापक भारी वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। आज देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

दिउँसोको तुलनामा रातिको समयमा विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बढी सक्रिय हुन सक्ने विभागले जनाएको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आगामी २४ घण्टाभित्र भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ। विभागका अनुसार सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागसहित कर्णाली प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ।

यस्तै मंगलबार कोशी र बागमती प्रदेशका पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।