ब्राजिलको राष्ट्रिय टोली भारत आउने सम्भावना, कोलकातामा मैत्रीपूर्ण खेलको तयारी

User Image Prime TV News ६ दिन अगाडि
Image of ब्राजिलको राष्ट्रिय टोली भारत आउने सम्भावना, कोलकातामा मैत्रीपूर्ण खेलको तयारी

काठमाडौ । पाँचपटकको विश्वकप विजेता ब्राजिलको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आउने सम्भावना बढेको छ।

ईएसपीएन ब्राजिलका अनुसार ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) ले टोलीलाई भारत ल्याउने विषयमा छलफल अघि बढाएको छ। भारतीय सञ्चारमाध्यमहरूले पनि ब्राजिलको सम्भावित भारत भ्रमणबारे समाचार प्रकाशित गरेका छन्।

रिपोर्ट अनुसार सन् २०२६ को फिफा विश्वकप अवधिमै सीबीएफ र भारतीय पक्षबीच यस विषयमा प्रारम्भिक वार्ता सुरु भएको थियो। विश्वकपका दौरान भारतीय समर्थकहरूले ब्राजिलप्रति देखाएको उत्साह र सामाजिक सञ्जालमा भाइरल भएका समर्थकका तस्बिरहरूले ब्राजिललाई भारतमा खेल आयोजना गर्न प्रेरित गरेको बताइएको छ।

ब्राजिलले आगामी सेप्टेम्बरको अन्तिम साता र अक्टोबरको सुरुआतमा तीनवटा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। जसमध्ये दुई खेल अस्ट्रेलियाविरुद्ध तय भइसकेका छन्। ब्राजिलले सेप्टेम्बर २५ मा टाउन्सभिल र सेप्टेम्बर २९ मा ब्रिस्बेनमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

तेस्रो मैत्रीपूर्ण खेलका लागि सीबीएफले सम्भावित आयोजकको खोजी गरिरहेको छ। उक्त खेल भारतमा आयोजना हुन सक्ने सम्भावना रहेको छ। खेलका लागि ब्राजिलको प्रतिद्वन्द्वी टोली भने अहिलेसम्म निश्चित भएको छैन।

ब्राजिललाई आमन्त्रण गर्न बंगलादेश, सिंगापुर र कतारले पनि इच्छा देखाएका थिए। तर हालसम्म भारतसँगको छलफल मात्रै अघि बढेको बताइएको छ। सम्भावित खेलका लागि कोलकाता प्रमुख विकल्पका रूपमा हेरिएको छ।

फुटबलप्रतिको गहिरो आकर्षण रहेको कोलकातामा यसअघि पनि विश्वस्तरीय खेल आयोजना भएका छन्। सन् १९७७ मा ब्राजिलका महान् खेलाडी पेलेले न्युयोर्क कोसमोसबाट खेल्दै कोलकाताको इडेन गार्डेन्समा मोहन बगानविरुद्ध ऐतिहासिक मैत्रीपूर्ण खेल खेलेका थिए।