लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीको सामूहिक राजीनामा
Prime TV News ६ दिन अगाडि 
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका हुन्। सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आफूहरूले दलका नेता चौधरीलाई राजीनामा बुझाएको पुष्टि गरेका छन्।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेसका मन्त्रीहरूले सरकारबाट बाहिरिने निर्णय गरेका हुन्। लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी थिए।
अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मुख्यमन्त्री आचार्य नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन्। यसअघि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेको सहकार्यमा सरकार सञ्चालन हुँदै आएको थियो।
तर एमाले र नेकपाबीच नयाँ राजनीतिक सहमति बनेसँगै कांग्रेस प्रदेश सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने भएको छ।







