गेटा अस्पताल ३०० शय्यामा सञ्चालन नगरी विश्वविद्यालय सम्भव छैन : प्रदीप पौडेल
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई कम्तीमा ३०० शय्याको क्षमतामा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालयमा गाभी स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने न्यून लागतमा विश्वविद्यालय सञ्चालनको आधार तयार गर्न सकिने बताएका छन्।
उनले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री रहँदा गेटा अस्पताल सञ्चालन तथा एमबीबीएस पठनपाठन सुरु गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८१/८२ को बजेटमै स्रोत सुनिश्चित गरिएको उल्लेख गरेका छन्। त्यतिबेला केही पक्षले वास्तविक अवस्था नबुझी विरोध गरे पनि अस्पतालको क्षमता विस्तार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको उनको दाबी छ।
पौडेलले हाल आमरण अनशनरत डा. गोविन्द केसीका मागप्रति पनि समर्थन जनाएका छन्। उनका अनुसार डा. केसीले अस्पताल शीघ्र सञ्चालनको माग राखेर सुरु गरेको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको छ।
उनले अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा विभिन्न बहानामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै व्यावहारिक र आवश्यक समाधान भएको बताएका छन्।
पौडेलका अनुसार अस्पतालको स्तरोन्नति नगरी न विश्वविद्यालयको उद्देश्य पूरा हुन्छ, न एमबीबीएस पठनपाठन प्रभावकारी रूपमा सुरु गर्न सकिन्छ।







