रूसले थप ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउने तयारी गरेको जेलेन्स्कीको दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनविरुद्धको युद्धमा परिचालन गर्न थप ३० हजार उत्तर कोरियाली सैनिक ल्याउने तयारी गरिरहेको दाबी गरेका छन्।
शनिबार राति सार्वजनिक भिडियो सम्बोधनमा जेलेन्स्कीले रूसले उत्तर कोरियाली सैनिकको आगमनका लागि भोरोनेझ क्षेत्रमा जुन महिनादेखि नै आवश्यक तयारी गरिरहेको बताएका हुन्। रूस र उत्तर कोरियाबीच भएको आपसी रक्षा सम्झौतापछि प्योङयाङले आफ्ना सैनिकलाई युक्रेन युद्धमा पठाउँदै आएको छ।
सन् २०२४ मा युक्रेनी सेनाले रूसको कुर्स्क क्षेत्रका केही भाग नियन्त्रणमा लिएपछि त्यस क्षेत्र पुनः नियन्त्रणमा लिन उत्तर कोरियाले करिब १४ हजार सैनिक पठाएको थियो। जेलेन्स्कीका अनुसार उत्तर कोरियाले सैनिक मात्र नभई रूसलाई ब्यालिस्टिक मिसाइलका लागि नयाँ लन्चरहरू पनि उपलब्ध गराउने तयारी गरिरहेको छ।
उनले रूस–उत्तर कोरिया सैन्य सहकार्यले युक्रेन मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षामै चुनौती थपिएको दाबी गरे। रूसले उत्तर कोरियालाई आधुनिक युद्धको अनुभव, हतियारको प्रयोग तथा प्रविधि सुधारका अवसर उपलब्ध गराइरहेको उनको आरोप छ।
उत्तर कोरियाली मिसाइलको पहुँचभित्र रहेका एसियाली मुलुकहरूका लागि समेत यो सहकार्य चिन्ताको विषय बन्न सक्ने जेलेन्स्कीले बताएका छन्। युक्रेनी राष्ट्रपतिले सम्भावित सुरक्षा चुनौतीको सामना गर्न आफ्नो देश तयार रहेको र आवश्यक प्रतिकार गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।






