११ करोड रुपैयाँ हिनामिना प्रकरण : इन्सपेक्टर गुरुङसहित दुई जनालाई १० दिन थुनामा राख्न अनुमति
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना भएको आरोपमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु गरेको छ।
यसअघि नेपाल प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो। सशस्त्र प्रहरी बलको पत्रका आधारमा उनीहरू गत असार २० गते पक्राउ परेका थिए।यस घटनाबारे सशस्त्र प्रहरीले आन्तरिक छानबिन पनि गरेको थियो। छानबिन प्रतिवेदनले इन्सपेक्टर गुरुङको योजनामा रकम हिनामिना भएको निष्कर्ष निकालेको जनाएको छ।
छानबिनका क्रममा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको पनि गम्भीर लापरबाही देखिएको उल्लेख गरिएको छ। घटनाबारे अख्तियारको अनुसन्धान जारी रहेको छ।






