तारकेश्वरमा कारभित्र मृत भेटिएकी महिलाको घटनामा सीसीटीभी फुटेज फेला
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिक कारभित्र मृत भेटिएकी रश्मी रिजालको घटनामा प्रहरीले महत्वपूर्ण सीसीटीभी फुटेज फेला पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थल आसपासका सीसीटीभी क्यामेराको अध्ययन गर्दा तारकेश्वर–९ शुभकामना चोक निवासी ४५ वर्षीया रिजाल कारको अगाडिको चालक सिटबाट ओर्लिएर पछाडिको सिटमा गएको दृश्य देखिएको छ।
प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत रिजाल पछाडिको सिटमा बसेको केहीबेरमै कारबाट धुवाँ निस्किएको दृश्य पनि फुटेजमा कैद भएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा कुनै तेस्रो पक्षको संलग्नता वा शंकास्पद गतिविधि नदेखिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण भने पोस्टमार्टम प्रतिवेदनपछि थप स्पष्ट हुने प्रहरीको भनाइ छ। रिजाल गत साउन ८ गते साँझदेखि सम्पर्कविहीन भएकी थिइन्।
त्यसको भोलिपल्ट दिउँसो बीएई ०४१० नम्बरको विद्युतीय कारभित्र जलेको अवस्थामा उनको शव फेला परेको थियो। उक्त कार उनी स्वयंले प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।







