सुनसरीमा झडपपछि अनिश्चितकालीन कर्फ्यु, एक जनाको मृत्यु
Prime TV News ५ दिन अगाडि 
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
घटनापछि देवानगञ्ज र हरिनगर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीको आदेशमा सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा–बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रहरीका अनुसार आइतबार राति बोलबम यात्राका क्रममा कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद भएपछि झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना रहेका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
यसबीच घटनास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्।
उनले घाइतेहरूको शरीरको माथिल्लो भागमा गोली लागेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उता, जिल्ला प्रशासन कार्यालयले भने सार्वजनिक सुरक्षा र शान्ति व्यवस्था कायम राख्न कर्फ्यु जारी गर्नु आवश्यक भएको जनाएको छ।
प्रशासनले कर्फ्यु आदेशको पालना गर्न, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







