डा. गोविन्द केसीसँग आज निर्णायक वार्ता हुने, सहमतिका लागि प्राविधिक विषयमा छलफल जारी
Prime TV News ५ दिन अगाडि 
धनगडी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेजलगायत पाँचबुँदे माग राखेर अनशनरत प्राध्यापक डा. गोविन्द केसीसँग सरकारले आज निर्णायक वार्ता गर्ने तयारी गरेको छ।
आइतबार सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच करिब १२ घण्टा लामो छलफल भए पनि केही प्राविधिक विषयमा सहमति जुट्न नसक्दा वार्ता निष्कर्षविहीन बनेको थियो।
सेती प्रादेशिक अस्पतालमा भएको छलफलमा सम्झौताको मस्यौदासमेत तयार भएको बताइएको छ। तर शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सिट सङ्ख्यासम्बन्धी विषयमा थप सहमति आवश्यक परेपछि दुवै पक्ष सोमबार बिहान पुनः वार्तामा बस्ने सहमतिमा पुगेका हुन्।
डा. केसी पक्षका अनुसार सबैभन्दा जटिल विषय विश्वविद्यालयका पदाधिकारीको जिम्मेवारीबारे रहेको छ। स्वार्थको द्वन्द्व हुने गरी नियुक्ति गरिएको भन्दै डा. केसीले सम्बन्धित पदाधिकारीलाई हटाएर विश्वविद्यालय सञ्चालनमा अवरोध नआउने वैकल्पिक व्यवस्था गर्नुपर्ने अडान राखेका छन्।
स्रोतका अनुसार सरकार विवादमा परेका रजिष्ट्रारलाई जिम्मेवारीमुक्त गर्न सकारात्मक देखिएको छ भने उपकुलपतिको विषयमा छलफल जारी छ। विश्वविद्यालयको नियमित काम प्रभावित नहुने गरी कानुनी तथा वैकल्पिक व्यवस्थाबारे पनि गृहकार्य भइरहेको जनाइएको छ।
यसैबीच, गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षभित्र ३०० शैय्याको अस्पताल सञ्चालन र मेडिकल शिक्षाको अध्यापन प्रभावित नहुने गरी समाधान खोज्ने विषयमा पनि छलफल भइरहेको छ।
डा. केसीले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा गरिएका विवादास्पद नियुक्ति खारेज, चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान संशोधन, निजी मेडिकल कलेजमा मापदण्डविनाको सिट वृद्धि रोक्न, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन तथा विगतका सहमतिहरू कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
साथै सुदूरपश्चिमका नागरिकका लागि स्वास्थ्य, शिक्षा र पूर्वाधार सेवा विस्तार तथा भ्रष्टाचार र हिंसाका घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन्।
गत बिहीबारदेखि अनशनमा रहेका डा. केसीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ। वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, स्वास्थ्य सचिव, शिक्षा सचिव तथा अन्य सरकारी प्रतिनिधिहरू धनगढीमा रहेका छन्।







