लगातार दुई हारपछि नेपाल आज नामिबियाविरुद्ध जितको खोजीमा
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेल गुमाएको नेपाल सोमबार नामिबियासँग प्रतिस्पर्धा गर्दै पुनरागमनको प्रयास गर्ने भएको छ।
नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार सोमबार दिउँसो ४:४५ बजे सुरु हुनेछ। प्रारम्भिक दुई खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा अपेक्षित प्रदर्शन गर्न नसकेको नेपालका लागि यो खेल जित्नैपर्ने दबाबमा रहेको छ।
शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५८ रनमा समेटिएको थियो। नेपालले दिएको लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो।
दोस्रो खेलमा पनि नेपाल समान १५८ रनमै सीमित रह्यो। उक्त लक्ष्य नेदरल्यान्ड्सले ३५ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै नेपाललाई ६ विकेटले पराजित गरेको थियो।
यता, आयोजक नेदरल्यान्ड्सले आफ्ना दुवै खेल जित्दै तालिकामा बलियो स्थिति बनाएको छ। ३० खेलबाट ३६ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ भने समान ३० खेल खेलेका नेपाल र नामिबिया समान २४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन्।
विश्वकप छनोटको दौडमा कायम रहन नेपाललाई बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन आवश्यक छ। सोमबार नामिबियासँग खेल्ने नेपालले त्यसपछि बुधबार आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
शीर्ष चारभित्र रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउन नेपालका लागि अबका खेलहरू अत्यन्त महत्वपूर्ण मानिएका छन्।







