डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, विवरण अद्यावधिक गर्न २०८३ असोज मसान्तसम्म समय

User Image Prime TV News १ हप्ता अगाडि
Image of डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, विवरण अद्यावधिक गर्न २०८३ असोज मसान्तसम्म समय

काठमाडौ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गरेको छ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै सबै डिजिटल वालेट सेवा प्रदायकलाई प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र विवरण अभिलेखीकरण गर्न निर्देशन दिएको हो।

संशोधित व्यवस्थाअनुसार हाल वालेट प्रयोग गरिरहेका सेवाग्राहीले २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्नेछ। निर्देशनले नयाँ वालेट खाता खोल्ने प्रक्रियामा पनि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य पहिचान विवरणका रूपमा समावेश गरेको छ।

यसबाट ग्राहक पहिचान (केवाईसी) प्रणालीलाई थप प्रभावकारी बनाउने र डिजिटल वित्तीय कारोबारलाई सुरक्षित बनाउने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ। यद्यपि विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि भने केही सहज व्यवस्था गरिएको छ।

विदेशबाटै अनलाइनमार्फत डिजिटल वालेट खोल्ने नेपालीले राष्ट्रिय परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न सक्नेछन्। तर नेपाल फर्किएको ३५ दिनभित्र भने उनीहरूले राष्ट्रिय परिचयपत्रको विवरण वालेटमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको यो निर्णयले डिजिटल भुक्तानी प्रणालीमा प्रयोगकर्ताको पहिचान प्रमाणीकरणलाई थप सुदृढ बनाउने तथा वित्तीय अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।