एमाले–नेकपा सत्ता सहकार्यमा गोकुल बास्कोटाको व्यंग्य, ‘स्वर्ग कि नर्क?’ प्रसंग फेरि चर्चामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले–नेकपा सत्ता सहकार्यमा गोकुल बास्कोटाको व्यंग्य, ‘स्वर्ग कि नर्क?’ प्रसंग फेरि चर्चामा

काठमाडौ । प्रदेश सरकारहरूमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारी गर्ने सहमतिप्रति एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सत्ता समीकरण बन्ने र भत्किने प्रक्रिया केही सीमित नेताको निर्णयमा निर्भर हुने परम्पराप्रति कटाक्ष गरेका छन्। उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सत्ता राजनीतिमा हुने अप्रत्याशित मोडप्रति व्यंग्य गरेका हुन्।

बास्कोटाले आफ्नो टिप्पणीमा सत्ता समीकरणका निर्णयबारे पार्टीका अधिकांश नेता तथा कार्यकर्तासमेत अनभिज्ञ रहने अवस्था दोहोरिएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक अभ्यासभन्दा फरक शैलीको निर्णय प्रक्रिया भएको संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमा ‘हाँडी बोकेर स्वर्ग कि नर्क’ भन्दै टिप्पणी गर्दै अहिलेको सहकार्यलाई व्यंग्यात्मक रूपमा चित्रण गरेका छन्।

उनको अभिव्यक्तिसँगै २०८१ असारमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भएको ‘स्वर्ग पनि सँगै जाने, नर्क गए पनि सँगै जाऔँला’ भन्ने चर्चित संवाद पुनः चर्चामा आएको छ। उक्त अभिव्यक्तिपछि दुवै दलबीचको सत्ता सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिए पनि केही समयमै एमालेले नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाएर सरकार गठन गरेको थियो।

त्यही घटनापछि प्रचण्ड सरकारबाट बाहिरिएका थिए भने कांग्रेस–एमाले गठबन्धनको नेतृत्वमा ओली पुनः प्रधानमन्त्री बनेका थिए। त्यसयता प्रचण्डले उक्त घटनालाई बारम्बार स्मरण गर्दै आलोचना गर्दै आएका थिए। अहिले प्रदेश तहमा एमाले र नेकपाबीच नयाँ सहकार्यको सहमति भएपछि ‘स्वर्ग र नर्क’ प्रसंग फेरि राजनीतिक बहसको विषय बनेको छ।