मुख्यमन्त्री नछाड्ने हिक्मत कार्कीको अडान, ‘संस्थागत निर्णयबिना राजीनामा दिन्नँ’
Prime TV News ६ दिन अगाडि 
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूले तत्काल राजीनामा नदिने स्पष्ट संकेत दिएका छन्।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने सहमतिपछि नेतृत्व परिवर्तनको चर्चा भइरहेका बेला कार्कीले संस्थागत निर्णयबिना पद नछाड्ने अडान लिएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै हातमा रहने सहमति भएको छ। यद्यपि, पार्टीभित्र मुख्यमन्त्री परिवर्तन गरी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई नेतृत्व दिने तयारी भइरहेको चर्चा छ।
यसबीच मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८ (५) बमोजिम बहुमत सांसदहरूको समर्थनमा नियुक्त भएकाले व्यक्तिगत निर्णयका आधारमा राजीनामा दिन नमिल्ने तर्क गरेका छन्। उनका अनुसार यस्तो अवस्थामा राजीनामाले संवैधानिक तथा राजनीतिक जटिलता उत्पन्न हुन सक्छ।
कार्कीले पार्टीको संस्थागत निर्णय भए त्यसलाई स्वीकार गर्ने, तर व्यक्तिगत निर्देशनका आधारमा पद त्याग नगर्ने अडान राखेका छन्। उनले आफू एमालेको केन्द्रीय सचिवसमेत रहेकाले आवश्यक परे पार्टीका आधिकारिक निकायबाट निर्णय हुने विश्वास व्यक्त गरेका छन्।
स्रोतका अनुसार कार्कीले केही दिनअघि अध्यक्ष ओलीसँग भेटवार्ता गर्दै नेतृत्व परिवर्तनले उत्पन्न हुन सक्ने संवैधानिक पक्षबारे जानकारी गराइसकेका थिए। तर ओली भने प्रदेश सरकारमा नयाँ नेतृत्व ल्याउने पक्षमा रहेको बताइएको छ।
कोशी प्रदेश सभामा ९३ सदस्य छन्। एमालेसँग ४०, नेपाली कांग्रेससँग २९, नेकपासँग १७, राप्रपासँग ५ र जसपासँग १ सांसद रहेका छन्। एमाले र नेकपाबीचको नयाँ सहकार्य कार्यान्वयन भए प्रदेश सरकारका लागि स्पष्ट बहुमत पुग्ने अवस्था रहनेछ।







