देवानगञ्जमा कर्फ्युबीच हिंसा चर्कियो, आगजनी र तोडफोडपछि नेपाली सेना परिचालन

User Image Prime TV News ६ दिन अगाडि
Image of देवानगञ्जमा कर्फ्युबीच हिंसा चर्कियो, आगजनी र तोडफोडपछि नेपाली सेना परिचालन

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्ज क्षेत्रमा कर्फ्यु आदेशको उल्लङ्घन गर्दै प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र सडक अवरोध गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय एक युवकको मृत्यु हुनुका साथै नौ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

तर कर्फ्यु लागू भएपछि पनि ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए। उनीहरूले कप्तानगन्ज क्षेत्रमा टायर बाल्दै विरोध प्रदर्शन गर्नुका साथै पाँचवटा पसलमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध भएको छ।

प्रहरी र सशस्त्र प्रहरीको प्रयासले अवस्था नियन्त्रणमा आउन नसकेपछि बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सुरक्षा उपस्थिति थप सुदृढ पार्दै प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्ने प्रयास भइरहेको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै अफवाहमा नलाग्न र सुरक्षा निकायलाई सहयोग गर्न अनुरोध गरेको छ। घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ।