माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड, सत्ता सहकार्यबारे छलफल
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई भेट्न सोमबार बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको तीनबुँदे सहमतिप्रति नेपाल असन्तुष्ट रहेपछि उनलाई विश्वासमा लिन प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ। गत शनिबार ओली र प्रचण्डबीच पाँच प्रदेशमा सरकार गठन र शक्ति बाँडफाँटका विषयमा सहमति भएको थियो।
उक्त सहमतिलाई नेपालले ‘सत्ता केन्द्रित’ मात्र भएको र नीतिगत स्पष्टता नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। सोमबार बिहान साढे ९ बजे भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणलाई मजबुत बनाउने उपाय र नयाँ सहमतिका विषयमा छलफल भएको बताइएको छ।
नेपालका सहयोगी लक्ष्मण रेग्मीका अनुसार भेटमा वर्तमान राजनीतिक अवस्था र गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। नेपाल निकट नेता रामकुमार भट्टराईका अनुसार नयाँ सरकारले गर्ने काम, जनतालाई दिने सेवा र नीतिगत प्राथमिकताबारे स्पष्ट खाका नआएकाले सहमति अझै परिपक्व नभएको नेपालको बुझाइ छ।
शनिबारको सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिने तथा नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने उल्लेख छ। भेटका क्रममा प्रचण्डले सत्ता सहकार्यलाई बलियो बनाउन माधव नेपालको भूमिका महत्वपूर्ण रहेको भन्दै उनलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।







