वित्तीय क्षेत्रमा आमूल सुधार गर्नुपर्ने बाबुराम भट्टराईको जोड, युवाको अपेक्षा पूरा गर्न सरकारलाई आग्रह
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको वित्तीय तथा आर्थिक क्षेत्रमा संरचनागत सुधार आवश्यक रहेको बताएका छन्।
उनले आँटिला प्रधानमन्त्री, विद्वान अर्थमन्त्री र गभर्नरबाट युवाहरूले वित्तीय क्षेत्रमा आमूल परिवर्तनको अपेक्षा गर्नु स्वाभाविक भएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले लघुवित्त, मिटरब्याज, सहकारी, सुकुम्वासी, मुक्त कमैया र मुक्त हलियाका समस्या एउटै गरिबी, बेरोजगारी र सामाजिक विभेदका विभिन्न रूप भएको बताएका छन्।
उनले निरपेक्ष गरिबीको आधिकारिक तथ्याङ्क र सापेक्ष गरिबीको अवस्थालाई हेर्दा देशको सबैभन्दा ठूलो चुनौती नै गरिबी र रोजगारीको अभाव रहेको बताएका छन्। पटकपटक भएका आन्दोलन र विद्रोहको मूल कारण पनि यही सामाजिक–आर्थिक समस्या भएको उनको भनाइ छ।
भट्टराईले पछिल्लो जेनजी विद्रोह र सरकार परिवर्तनको बाहिरी कारण शहरी युवाहरू देखिए पनि यसको गहिरो कारण ग्रामीण क्षेत्रबाट विस्थापित भएका तथा रोजगारीको खोजीमा विदेश जान बाध्य युवाहरूको असन्तुष्टि रहेको टिप्पणी गरेका छन्।
उनले गरिबी र असमानताको समस्यालाई सामान्य उपायबाट समाधान गर्न नसकिने भन्दै आर्थिक, सामाजिक, वित्तीय, कानुनी र प्रशासनिक क्षेत्रमा एकीकृत सुधार आवश्यक रहेको बताएका छन्। परम्परागत कृषिमा आधारित अर्थतन्त्र कमजोर बन्दै गएको र औद्योगिक तथा सेवामूलक अर्थतन्त्रले पूर्ण रूपमा आधार तयार गर्न नसकेको अवस्थामा वित्त तथा बैंकिङ क्षेत्रको संरचनात्मक सुधार महत्वपूर्ण हुने उनको भनाइ छ।
भट्टराईले अनुत्पादक क्षेत्रमा जाने वित्तीय पुँजीले उत्पादनमूलक क्षेत्रमा लगानी घटाउने र त्यसले औद्योगिक विकास तथा रोजगारी सिर्जनामा बाधा पुर्याउने बताएका छन्। उनले ऋणको चपेटामा परेका किसान, साना तथा मध्यम व्यवसायीलाई राहत दिँदै उनीहरूलाई उत्पादनमूलक गतिविधिमा जोड्ने नीति आवश्यक रहेकोमा जोड दिएका छन्।







