सुनसरी घटनापछि गृहमन्त्रीको राजीनामा मागे एमाले नेता बास्कोटाले
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने माग गरेका छन्।
दुई समुदायबीच तनाव उत्पन्न भएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको घटनापछि बास्कोटाले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको राजीनामा माग गरेका हुन्। घटनामा प्रहरीसहित २१ जना घाइते भएका छन्।
कर्फ्यु आदेश जारी गरिएको अवस्थामा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको थियो। बास्कोटाले गृहमन्त्री गुरुङप्रति कटाक्ष गर्दै संसद्को रोष्ट्रममा भावुक अभिव्यक्ति दिएर मात्र जवाफदेहिता पूरा नहुने बताएका छन्। उनले घटनाको जिम्मेवारी लिने हो भने राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जवाफदेहिता भए राजीनामा देऊ।” बास्कोटाले सुरक्षा व्यवस्थापन र घटनाको जिम्मेवारीबारे सरकारमाथि प्रश्न उठाएका छन्। सुनसरीको कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद भएपछि झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि नियन्त्रणमा नआएपछि गोली चलाएको जनाएको छ।
प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।







