अमा दब्लममा अमेरिकी ड्रोनको सफल परीक्षण, उच्च हिमाली क्षेत्रमा सामग्री ढुवानीको नयाँ सम्भावना

User Image Prime TV News ५ दिन अगाडि
Image of अमा दब्लममा अमेरिकी ड्रोनको सफल परीक्षण, उच्च हिमाली क्षेत्रमा सामग्री ढुवानीको नयाँ सम्भावना

काठमाडौ । अमेरिकामा निर्मित फ्रिफ्लाइ अल्टा एक्स जेन–२ (Freefly Alta X Gen-2) ड्रोनको नेपालस्थित अमा दब्लम हिमाल क्षेत्रमा सफल परीक्षण गरिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले कोकाकोला फाउन्डेसन र सेभेन समिट ट्रेक्ससँगको सहकार्यमा उच्च हिमाली क्षेत्रमा ड्रोन प्रविधिको प्रदर्शन गरिएको जनाएको हो। अमेरिकी दूतावासका अनुसार नेपाली ड्रोन अपरेटरहरूले गत जुन महिनामा अमा दब्लमको चार हजार ६०० मिटर उचाइमा रहेको आधार शिविरदेखि करिब पाँच हजार ५० मिटर उचाइमा रहेको याक क्याम्पसम्म ड्रोन उडाएका थिए।

परीक्षणका क्रममा ड्रोनले अक्सिजन सिलिन्डर र अन्य आवश्यक उपकरण बोकेर करिब १.६ किलोमिटरको ठाडो हिमाली दूरी सफलतापूर्वक पार गरेको थियो। दूतावासले सबै उडान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

उच्च उचाइ र कठिन भूगोलमा अमेरिकी व्यावसायिक ड्रोन प्रविधि तथा नेपाली पर्वतीय दक्षताको संयोजनले जटिल क्षेत्रमा पनि प्रभावकारी रूपमा काम गर्न सकिने पुष्टि भएको दाबी गरिएको छ। अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले यो सहकार्यले अमेरिकी नवप्रवर्तन र नेपालको विश्वस्तरीय पर्वतीय अनुभवलाई एकै ठाउँमा ल्याएको उल्लेख गरेका छन्।

यस्तो प्रविधिले पर्वतारोहणका क्रममा शेर्पामाथिको शारीरिक भार कम गर्न, पर्वतारोहीको सुरक्षा बढाउन तथा आवश्यक सामग्री छिटो र सुरक्षित रूपमा ढुवानी गर्न सहयोग पुर्‍याउन सक्ने विश्वास लिइएको छ । दूतावासले पर्वतारोहण व्यवस्थापन, हिमाली सरसफाइ, खोज तथा उद्धार, विपद् व्यवस्थापन र दुर्गम क्षेत्रमा आकस्मिक सामग्री ढुवानीका लागि पनि ड्रोन प्रविधिको उपयोगिता उल्लेख गरेको छ।