सुनसरीमा प्रदर्शन उग्र, आगजनी–तोडफोडपछि सेना परिचालन

User Image Prime TV News ५ दिन अगाडि
Image of सुनसरीमा प्रदर्शन उग्र, आगजनी–तोडफोडपछि सेना परिचालन

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सोमबार उग्र बनेको छ।

प्रदर्शनका क्रममा जिल्लाका विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट तथा सडक अवरोधका घटना भएका छन्। आइतबार दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

घटनामा गोली लागेका सर्वसाधारणसहित सुरक्षाकर्मी गरी २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सोमबार बिहानदेखि आक्रोशित प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।

प्रहरीका अनुसार देवानगञ्ज क्षेत्रमा तीन–चार वटा घर, केही पसल तथा सवारीसाधनमा आगजनी गरिएको छ। गाउँपालिका कार्यालय नजिकै स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल र पार्किङमा रहेको एउटा ट्र्याक्टरमा आगो लगाइएको छ। त्यसैगरी अबाफ अन्सारीको घर, दुई वटा मोटरसाइकल तथा परालका टालीमा पनि आगजनी भएको प्रहरीले जनाएको छ।

प्रदर्शनका क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्कने क्रममा उनीमाथि आक्रमण भएको र गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको छ।

सेनाको उपस्थितिपछि केही स्थानमा प्रदर्शनकारी तितरबितर भए पनि स्थानीयमा त्रासको वातावरण कायमै रहेको छ। यता जिल्ला सदरमुकाम इनरुवामा पनि प्रदर्शन भएको छ। करिब १५० जनाको समूहले बजार परिक्रमा गर्दै एक सर्वसाधारणमाथि कुटपिट गरेको, बजाज शोरुममा तोडफोड गरेको तथा अदालत रोड क्षेत्रमा सवारीसाधन र प्रहरी बिटमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा केही समय अवरोधसमेत भएको थियो। सुनसरी प्रहरीका अनुसार जिल्लाका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा उपस्थिति बढाइएको छ। कर्फ्यु आदेश जारी हुँदाहुँदै प्रदर्शन भएको भन्दै प्रशासनले अवस्था पूर्ण रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज, कप्तानगञ्ज, घुस्की र भुटाहा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र कानुनी व्यवस्था कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।