देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस नेता आङ्देम्बे
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको नैतिक र प्रशासनिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
आङ्देम्बेले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको उल्लेख गर्दै घटनाबारे गृहमन्त्रीले संसद् र जनतासमक्ष जवाफ दिनुपर्ने बताएका छन्। उनका अनुसार नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएकाले यस्तो घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्छ।
उनले पछिल्लो समय सरकारप्रति नागरिकको असन्तोष बढ्दै गएको उल्लेख गर्दै आत्मदाहजस्ता दुःखद घटनाहरू दोहोरिनु पनि गम्भीर चिन्ताको विषय भएको बताएका छन्। कांग्रेस नेता आङ्देम्बेले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान ननिस्कने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
उनले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयमता अपनाउनुपर्ने र सामाजिक सद्भाव कायम राख्न सबैले अफवाह तथा उक्साहटबाट टाढा रही संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन्।







