सुनसरीमा कर्फ्यु हटाइयो, सुरक्षा सतर्कता भने यथावत्

User Image Prime TV News ४ दिन अगाडि
Image of सुनसरीमा कर्फ्यु हटाइयो, सुरक्षा सतर्कता भने यथावत्

सुनसरी । सुनसरी जिल्लामा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु सोमबार बिहान १२:१५ बजेदेखि हटाइएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लागू गरिएको कर्फ्यु आदेश हटाइएपछि तोकिएको क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठकमा लगाइएको प्रतिबन्ध समाप्त भएको छ।

यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार इनरुवा नगरपालिका–३ र ६ अन्तर्गत महेन्द्र राजमार्गको घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेज पुलसम्म तथा उत्तर–दक्षिणतर्फ राजमार्ग आसपासका क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो।

देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि उत्पन्न तनाव नियन्त्रणका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

घटनाका क्रममा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–४ निवासी ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

प्रशासनले कर्फ्यु हटाए पनि जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता कायम राखिएको जनाएको छ। साथै स्थानीयवासीलाई सामाजिक सद्भाव कायम राख्न, अफवाहमा विश्वास नगर्न र शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ।