देवानगञ्ज घटनाको छानबिन सुरु, समिति विराटनगर पुगेर घाइतेसँग बयान संकलनमा

User Image Prime TV News ४ दिन अगाडि
Image of देवानगञ्ज घटनाको छानबिन सुरु, समिति विराटनगर पुगेर घाइतेसँग बयान संकलनमा

काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गठित सरकारी समिति सोमबार राति विराटनगर पुगेको छ।

समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग भेटघाट गर्दै प्रारम्भिक विवरण संकलन सुरु गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।

साथै, घटनाका प्रत्यक्ष प्रभावित व्यक्तिहरूसँग बयान लिएर आवश्यक प्रमाण र विवरण संकलन गर्ने काम अघि बढाएको छ।समितिले आगामी दिनमा घटनास्थल कप्तानगञ्ज पुगेर स्थलगत निरीक्षण गर्ने, प्रत्यक्षदर्शीका भनाइ, सुरक्षा निकायबाट प्राप्त विवरण तथा अन्य उपलब्ध प्रमाणका आधारमा घटनाको विस्तृत अध्ययन गर्ने जनाएको छ।

सोमबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको गृह मन्त्रालयको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो।

घटनापछि स्थानीय प्रशासनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो, जसलाई पछि हटाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।