मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

User Image Prime TV News ४ दिन अगाडि
Image of मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।

यसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि हिमाली र पहाडी भूभागका केही स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

मौसमविद्ले लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईका होचा भूभागमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।