फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

User Image Prime TV News ४ दिन अगाडि
Image of फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

काठमाडौ । अत्यधिक गर्मीका कारण फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोले तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्रान्सले पछिल्ला दुई दशकयताकै सबैभन्दा ठूलो डढेलोको सामना गरिरहेको छ । फ्रान्सका जिरोन्द र बोर्डो क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।

ती क्षेत्रमा मात्रै करिब दुई लाख मानिस सुरक्षित स्थानमा सारिएका छन्। डढेलोका कारण प्रसिद्ध वाइन उत्पादन क्षेत्रहरू पनि प्रभावित भएका छन्।

चार दिनयता फ्रान्समा करिब ४२० वर्ग किलोमिटर क्षेत्रमा डढेलो फैलिएको छ, जुन पेरिसको क्षेत्रफलभन्दा करिब चार गुणा ठूलो रहेको जनाइएको छ। यस्तै, स्पेनमा करिब ७२० वर्ग किलोमिटर क्षेत्रमा आगो फैलिएको छ।

डढेलोले फ्रान्सका संवेदनशील सैन्य संरचनासमेत जोखिममा परेका छन्। ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन केन्द्र र घातक रसायन भण्डारण गरिएका क्षेत्रहरू उच्च सतर्कतामा राखिएको बताइएको छ।

आगो नियन्त्रणका लागि फ्रान्स र स्पेन दुवै देशले हवाई तथा स्थलगत स्रोत परिचालन गरेका छन्। फ्रान्समा ६ हजार लिटर क्षमताका क्यानेडियर विमानमार्फत ताल तथा जलाशयबाट पानी भरेर प्रभावित क्षेत्रमा खन्याइँदै आएको छ। जिरोन्द क्षेत्रमा मात्रै करिब २,५०० अग्निनियन्त्रक आगो नियन्त्रणमा खटिएका छन्।

अधिक तापक्रम र सुख्खा मौसमका कारण डढेलो अझ फैलिन सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।