स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध नगर्न सबै अस्पताललाई अपिल गरेको छ।
मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिरहेको जनाउँदै उपचार सेवा नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अनुरोध गरिएको छ।
मन्त्रालयका अनुसार स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक तथा संवेदनशील सेवा भएकाले नागरिकले उपचार सेवामा कुनै अवरोध भोग्न नपर्ने सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको छ। विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
साथै, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।
मन्त्री मेहताले दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालय निरन्तर सक्रिय रहेको जनाएको छ। मन्त्रालयले स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको मौलिक अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नपुर्याई स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्न सबै अस्पतालसँग पुनः अपिल गरेको छ।







