सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
Prime TV News ४ दिन अगाडि 
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ।
घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले गोली चलाउने प्रहरीमाथि कारबाही गर्न, प्रहरी दमन बन्द गर्न तथा घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
उनीहरूले प्रधानमन्त्रीको राजीनामाको मागसमेत गरेका थिए। यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्ग, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो। आन्दोलनकारीसँग छलफलपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनाको विरोधमा सुनसरीसहित विभिन्न जिल्लामा प्रदर्शन जारी रहेको छ।







