सुनसरीका केही क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा अझै कायम
Prime TV News ४ दिन अगाडि 
सुनसरी । सुनसरीका केही स्थानमा जारी गरिएको कर्फ्यु र निषेधाज्ञा अझै कायम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु आदेश भने हटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन्। गत आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको तनाव नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। उक्त घटनापछि सोमबार बिहानदेखि जिल्लाका केही क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो। सीडीओ अधिकारीले जारी गरेको विज्ञप्तिमा अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश मात्रै हटाइएको स्पष्ट पारिएको छ।
अन्य संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा र अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् रहेको भन्दै सर्वसाधारणलाई प्रशासनले जारी गरेको आदेशको पालना गर्न आग्रह गरिएको छ। प्रशासनले सम्भावित जोखिम न्यूनीकरण तथा शान्ति–सुरक्षा कायम राख्न प्रभावित क्षेत्रमा लागू गरिएका आदेशहरू अझै प्रभावमा रहेको जनाएको छ।







