नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउनु दूरदर्शी राष्ट्रिय सङ्कल्पको परिणाम : झलनाथ खनाल

User Image Prime TV News ४ दिन अगाडि
Image of नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउनु दूरदर्शी राष्ट्रिय सङ्कल्पको परिणाम : झलनाथ खनाल

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै यसलाई आफूले अघि सारेको दूरदर्शी राष्ट्रिय सङ्कल्पको साकार रूप भएको बताएका छन्।

हाल चीनको बेइजिङमा रहेका खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने लाखौँ नागरिकले वर्षौंदेखि भोग्दै आएको ट्राफिक जाम र सास्तीलाई मध्यनजर गर्दै सुरुङमार्ग निर्माणको अवधारणा आफूले अघि बढाइएको उल्लेख गरेका छन्।

उनले वि.सं. २०६७ माघ २३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणसम्बन्धी रहेको स्मरण गराएका छन्। साथै, २०६७ माघ २७ गतेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वीकृत गरेको र वि.सं. २०६८ मा नीतिगत रूपमा अघि बढाउने निर्णय गरिएको बताएका छन्।

आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत आयोजनाका लागि बजेट विनियोजन गरिएको पनि उनले उल्लेख गरेका छन्। खनालले आज सुरुङमार्ग सञ्चालनमा आउनु दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको प्रतीक भएको बताएका छन्।

राष्ट्र निर्माण निरन्तरता, सहकार्य र सामूहिक उत्तरदायित्वको प्रतिफल भएको उल्लेख गर्दै उनले आयोजना सम्पन्न गराउन योगदान पुर्‍याउने विभिन्न समयका सरकार, प्राविधिक, कर्मचारी, मजदुर तथा जापान सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गर्दै यसबाट सुरक्षित, सहज र आधुनिक यातायात प्रणालीको विकास हुनुका साथै राष्ट्रिय अर्थतन्त्र र समग्र विकास यात्राले नयाँ गति लिने बताएका छन्।