भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको सरकारसँग माग
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले रासायनिक मल खरिद गर्न भारत गएका क्रममा पक्राउ परेका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि आवश्यक कूटनीतिक तथा कानुनी पहल गर्न सरकारसँग माग गरेको छ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा रहेको उल्लेख गर्दै उनीहरूको रिहाइका लागि तत्काल पहल गर्न आग्रह गरेका हुन्।
विज्ञप्तिअनुसार नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि ती किसान सीमावर्ती भारतीय बजार सोनवरसाबाट आफ्नो खेतीका लागि मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए।
कांग्रेसले उक्त घटनालाई प्रतिनिधिमूलक उदाहरणका रूपमा उल्लेख गर्दै वर्षौंदेखि रासायनिक मलको अभावका कारण किसानहरूले खेतीपातीको समयमा सास्ती भोग्नुपरेको जनाएको छ। मल आपूर्ति व्यवस्थापनमा कमजोरी, योजनाको अभाव र प्रशासनिक असक्षमताको प्रत्यक्ष असर किसानमाथि परेको भन्दै सरकारले तत्कालीन र दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा आफ्नो खेतीका लागि दुई बोरा युरिया र डीएपी मल खरिद गर्न गएका किसान २० दिनदेखि जेलमा रहँदासमेत सरकारले पर्याप्त पहल नगरेको भन्दै दुःख व्यक्त गरिएको छ। कांग्रेसले नागरिकको सुरक्षा र संरक्षण राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै ती किसान व्यावसायिक तस्करीका लागि नभई आफ्नै खेतीका लागि मल खरिद गर्न गएकाले उनीहरूको रिहाइका लागि सरकारले व्यवहारिक, कूटनीतिक तथा कानुनी माध्यमबाट तत्काल पहल गर्नुपर्ने माग गरेको छ।
साथै, कांग्रेसले भारत सरकारसँग पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखी पक्राउ परेका किसानको रिहाइ तथा आवश्यक कानुनी सहजीकरण गरिदिन अनुरोध गरेको छ। दुवै देशका सरकारले यस्ता संवेदनशील विषयलाई आपसी विश्वास र सहकार्यका आधारमा समाधान गर्नुपर्ने कांग्रेसको धारणा छ।







